सुवास दर्नाल/रासस
सोलुखुम्बु, कार्तिक ९ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झण्डै नौ हजार जना पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोज महिनामा आठ हजार नौ सय दुई जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
जसबाट निकुञ्जले रू दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३.१० राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रति पर्यटक नेपालीका लागि रू १००, सार्क मुलुकका लागि रू एक हजार पाँच सय र अन्य मुलुकका लागि रू तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनमा एक सय २५ जना, भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको जनाइएको छ । जसबाट साउनमा रू तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रू ३२ लाख ३६ हजार छ सय ९६.४१ राजस्व सङ्कलन भएको कर्मचारी श्रेष्ठले बताउनुभयो ।
“यतिबेला यहाँ पर्यटक सिजन चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमालहरु निकुञ्ज क्षेत्रमै पर्ने भएकाले पर्यटक आवगमन बढेपछि हामी पनि धेरै व्यस्त छौँ, पर्यटकसँग शुल्क सङ्कलन, अभिलेख सङ्कलन जस्ता कार्यमा हामी व्यस्त छौँ ।” श्रेष्ठले भने ।
सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटकहरु काठमाण्डौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टर मार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमाण्डाँैबाट सडकमार्ग मार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।
सिजनमा दैनिक एक हजार जना भन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरुक्षण अधिकृत सुस्मा रानाले बताइन ।
२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा समेत छन् ।
यस निकुञ्ज भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।