सोलुखुम्बु । पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बु सदरमुकाम क्षेत्रका व्यवसायीहरुमा व्यवस्तता बढेको छ । समर सिजनमा विदेशी पर्यटकहरु भित्रिएसँगै यहाँका होटल तथा लज सञ्चालकहरुमा व्यस्तता बढेको हो ।
केहि वर्ष अघि सम्म खुम्बु क्षेत्रमा सिधै जहाज मार्फत पुग्ने गरेका विदेशी तथा स्वदेशी पर्यटकहरु अहिले सल्लेरी क्षेत्रमा देखिन थालेका छन् । भ्रमणका लागि खुम्बु मात्रै रोजाईमा पर्ने पर्यटकहरु समेत सल्लेरीबाट थामडाँडा सम्म सडक सञ्जाल पुगेसँगै गाडी मार्फत सल्लेरी हुँदै आउने पर्यटकको संख्या बढ्न थालेका छन् ।
हिमालयन शेर्पा होटलका कविराज खालिङ राई भन्छन्–‘सिजन सुरु भएपछि त हामीलाई निक्कै व्यस्त बनाएको छ, विदेशीहरु पनि आउछन्, कुनै बस्ने गरेर आउछन् भने कुनै चिया, नास्ता गर्नेसँगले आउँछन्, यहाँ त एयरपोर्ट नजिक भएर प्लेनबाट आउने पर्यटकपनि आउँछन्, गाडीबाट आउने पनि आईराहुन्छ, नेपाली पर्यटकहरुको चाप पनि त्यतिकै छ ।’
सडकको पहुँच विस्तार भएसँगै सदरमुकाम क्षेत्रका व्यवसायीहरु समेत अहिले पर्यटकको स्वागत सतकारमा रमाईरहेका छन् । ‘कतिपय पर्यटकहरु गाडी मार्फत आएर यहाँ बास बस्छन भने कतिपय काठमाण्डौँबाट जहाज मार्फत फाप्लु आएर त्यहाँबाट जिप मार्फत उकालो लाग्ने गरेका छन् ।’ –फाप्लु होटल एण्ड लजकी सञ्चालक सिता विश्वकर्माले भनिन् ।
सल्लेरीमा दैनिक सरदर २ दर्जनको हाराहारीमा पर्यटक आउने गरेको व्यवसायीहरु बताउँछन् । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरु पछिल्लो समय सदरमुकाम हुँदै गाडी मार्फत खुम्बु तर्फ जाने क्रम बढ्दो छ । जसका कारण सल्लेरी तथा फाप्लुबाट माथिल्लो क्षेत्रका लागि छुट्ने जिपहरुमा समेत विदेशीको चाप रहेको सोलुखुम्बु सगरमाथा यातयात प्रालिका अध्यक्ष राम बहादुर विश्वकर्माले बताए ।
उनले भने–‘अहिले यात्रुको चाप राम्रो छ, हामीले यहाँबाट खुम्बु क्षेत्रमा क्यू सिस्टमबाट सवारी पठाउने गरेका छौ, जसमा अधिकांश गाडीमा विदेशी यात्रु हुन्छन् नै, कतिपय गाडी त विदेशीले नै भरिएको हुन्छ ।’ सडक सञ्जालले माथिल्लो क्षेत्र सदरमुकाम जोडिएसँगै यहाँका व्यवसायीहरुले समेत व्यवसायिक लाभ लिन थालेका हुन् ।