अपाच्य र अभद्र शैलीमा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक-गायिकालाई स्पष्टीकरण सोध्न छलफलमा बोलाएको छ ।
प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाइएको बताए । लाइभ दोहोरीको नाममा युट्युबमार्फत अग्रणी कलाकारले समेत संस्थाको अनुरोधलाई उल्लंघन गर्दै अश्लीलता फैलाएको प्रतिष्ठानको दाबी छ ।
प्रत्यक्ष दोहोरी कलाकार संघका सबै पदाधिकारीलाई पनि छलफलमा बोलाइएको छ । अश्लीलता प्रदर्शन गर्ने कलाकारलाई सचेत तुल्याउनेदेखि कारवाही गर्ने र अन्यलाई सचेत गराउने उद्देश्य रहेको अध्यक्ष बीजीले बताए ।
यसअघि पनि संस्थाले पटकपटक त्यसो नगर्न भने पनि आग्रहलाई नटेरिएको अध्यक्ष बीजीले बताए । केही दिनअघि गायक इन्द्र जीसीले पनि अश्लीलता फैलाएको भन्दै गायक कस्तुप पन्तले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए ।
गत साता प्रतिष्ठानले तीजको गीतमा पनि अपाच्य रुपमा प्रस्तुत नहुन चेतावनी दिइसकेको छ । onlinekhabar