spot_img

सल्लेरी–थामडाँडा सवारी भाडा मनोमानी, ठगिदै पर्यटक

spot_img

सुवास दर्नाल/रासस
सोलुखुम्बु, कार्तिक २ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खुम्बु क्षेत्र जाने जिप तथा बोलेरोको सवारी भाडामा मनोमानी बढेको छ । सल्लेरीबाट छिर्दी हुँदै खुम्बुको थामडाँडा जाने सवारीले पर्यटकहरुलाई मनोमानी भाडा असुल्ने गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयलेसल्लेरीदेखि थामडाँडासम्मको भाडादर प्रतिव्यक्ति रू दुई हजार पाँच सय तोकेको छ । तर यातयात व्यवसायीहरुले रिर्जभको नाममा सल्लेरी–थामडाँडासम्मको करिब रू ६० हजारसम्म लिने गरेका छन् ।

Advertisement

आठ जना सिट क्षमताको गाडीलाई सल्लेरीबाट थामडाँडा पुग्न रू ६० हजार तिर्दा प्रति यात्रु रू सात हजार पाँच सय पर्न आउछ । गत भदौँ १ गते थामेखोलामा आएको बाढीले माप्यदुधकोशी र खुम्बु पासाङ ल्हामुको सिमानामा रहेको मितेरी पुलमा क्षति पुगेसँगै सल्लेरी–थामडाँडा सिधा सवारी सञ्जाल टुटेको छ । जसका कारण अहिले सल्लेरीबाट छुटेका गाडी फाप्लु–टाक्सिन्दु–नुनथाला–फुलेली हुँदै छिर्दीसम्म स्थित दुधकोशीसम्म मात्रै पुग्ने गर्छन् ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमै पर्ने सल्लेरी–छिर्दीको दुरी करिब ५० किलोमिटर रहेको छ । छिर्दी स्थित दुधकोशीमा मोटरेबल पुल नभएकाले कोशी पारीबाट अर्को गाडीले खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ थामडाँडासम्म पु¥याउने गर्छन् । छिर्दी–थामडाँडाको दुरी करिब ३० किलोमिटर रहेको छ । सल्लेरी–छिर्दी रिर्जभको नाममा बोलेरोहरुले रू २५ देखि ३० हजार सम्म लिने गरेका छन् ।

Advertisement

सल्लेरी–छिर्दी रिर्जभ भाडा रू १३ देखि १५ हजारसम्म लिदै आएकोमा अहिले रू ३० हजारसम्म लिने गरेको पर्यटन व्यवसायीहरुको गुनासो छ । छिर्दीबाट कोशी पारी रहेका बोलेरोले थामडाँडासम्मको रिजर्भ भाडा(आठ जनाको) रू ३० देखि ३५ हजारसम्म लिने गरेका छन् । यस अघि प्रशासनले छिर्दीदेखि थामडाँडाको भाडा प्रति यात्रु रू एक हजार दुई सय रुपैयाँ तोकेको छ । तर पर्यटक सिजनमा गाडी कम र यात्रु बढी हुने भएकाले रिजर्भको नाममा छिर्दी–थामडाँडा प्रति यात्रु रू चार हजारसम्म पर्ने गरेको छ ।

“सल्लेरीबाट थामडाँडासम्म पुग्न नै बोलेरोलाई झण्डै ६० हजार लाग्ने रहेछ, सल्लेरीबाट छिर्दीसम्मको २५ हजार अनि फेरी छिर्दीबाट थामडाँडासम्मको ३० हजार लिन्छ भनेको छ, पर्यटक कति धेरै ठगिने रहेछ, यो सिजनमा यसरी मौका छोपेर ठग्नु त भएनी ?” पर्यटन व्यवसायी ङवाङ तेन्जी शेर्पाले भने । लुक्लामा मौसम प्रतिकुलताका कारण हवाइ उडान प्रभावित भइरहेको छ । जसका कारण सगरमाथा क्षेत्र भ्रमणमा जाने पर्यटकहरु मन्थली तथा काठमाण्डौँबाट सिधै जिपमार्फत सल्लेरी आइपुगेका छन् ।

उनीहरु सल्लेरीबाट बोलेरोमार्फत सोलुदुधकुण्ड नगरपालिका–१ छिर्दी हुँदै खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ थामडाँडासम्म जाने गर्छन् । थामडाँडासम्म गाडीमा गएका पर्यटकहरु करिब चार घण्टाको पैदल यात्रा मार्फत लुक्ला पुग्छन् । एक जना यात्रुलाई सल्लेरीबाट थामडाँडासम्म पुग्ने अहिले रू सात हजार पाँच सयसम्म पर्ने गरेको छ । जुन भाडा रिजर्भको नाममा असुली हुने गरेको पाइएको छ । यस सडक खण्ड कच्ची भएकाले ‘फोरवील’ नभएका गाडी सञ्चालन हुन सकेको छैन ।

जसका कारण बोलेरोहरु मात्रै सञ्चालन भइरहेका छन् । कालो नम्बर प्लेटका सवारीले माग धान्न नसक्ने भएपछि कतिपय निजी नम्बर प्लेट(रातो नम्बर)का बोलोरोले पनि सेवा दिदै आएका छन् । निजी नम्बर प्लेटका सवारीहरु सजग देखिएपनि कालो नम्बर प्लेटका बोलेरोहरु यात्रु ठग्नमा बढी माहिर देखिएको यात्रु रमेश राईले गुनासो गरे ।

“रातो नम्बरका गाडीहरु अलिक डराउछन् तर कालो नम्बर प्लेटका गाडीहरुले धेरै मोलमोलाइ गरेर बढी ठगिरहेको देखियो, यसरी यात्रुको ढाड सेक्न पाइन्न।” राईले भने ।
मनोमानी भाडा असुल्न काउण्टर नै बन्द
जिल्ला सदरमुकाम सल्लेरीबाट खुम्बुको थामडाँडासम्म बोलेरो सेवा दिदै आएको सोलुखुम्बु सगरमाथा यातयात प्रा.लि.को टिकट काउण्टर अहिले बन्द रहेको छ । सल्लेरीबाट खुम्बु क्षेत्रमा यातयात सेवा दिने उदेश्यका साथ दर्ता भएको उक्त यातयात प्रालिले केही महिना अघिबाट काण्टर बन्द गरेर बसेको छ । तर त्यही यातयात समितिका गाडीले रिजर्भको नाममा पर्यटकहरुसँग मनोमानी भाडा असुल्ने गरेको गुनासो यात्रुको छ ।

काण्टरबाट भाडा लिदा तोकिएको भाडा लिनुपर्ने भएकाले रिजर्भको नाममा यात्रु ठग्ने धन्दा चलिरहेको यात्रु पासाङ शेर्पाले गुनासो गर्नुभयो । तोकिएको भाडा लिने दायित्व समितिको भएपनि समिति आफै टिकट काउण्टर बन्द गरेर बस्दा गाडीवालाहरुले मनोमानी भाडा लिने गरेको उनको भनाइ छ । यता यातयात प्रालिका अध्यक्ष राम बहादुर विश्वकर्मा भने समितिमा आवद्ध व्यवसायीहरु बिच कुरा नमिल्दा काउण्ट नै बन्द गर्नुपरेको बताउछन्न ।

समिति मार्फत गाडी सञ्चालान गर्दा समितिका पदाधिकारीहरु एक मत हुन नसक्दा आफुले समितिको काउण्टर नै बन्द गरेर बसेको उनको भनाइ छ । अहिले ति सवारी साधनहरु समेत आफ्नो नियन्त्रणमा नरहेकाले गल्तिको भागिदार आफु हुन नसक्ने विश्वकर्माको तर्क छ ।
प्रहरीले बढायो सकृयता
यात्रु ठगिनबाट बचाउन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आफ्नो सकृयता बढाएको छ । जिल्ला सदरमुकाम सल्लेरीबाट छुटेका बेलेरो गाडीहरुले पर्यटक ठग्ने गरेको गुनासो पछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका प्रहरीले केही गाडीहरुलाई कारबाही समेत गरेको छ ।

प्रहरीले तोकिएको भन्दा बढी भाडा असुल्ने बेलेरोका चालकलाई कारबाही गर्दै बढी लिएको भाडा समेत फिर्ता गराइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी द्वारिका प्रसाद घिमिरेले बताए । उनका अनुसार सल्लेरी, फाप्लु, सुर्के लगायतका क्षेत्रमा प्रहरी र ट्राफिक प्रहरीलाई चेकिङमा खटाइएको छ ।

जसबाट एकैदिन एक दर्जन भन्दा बढी सवारीहरु कारबाहीमा परेका छन् । क्षमता भन्दा बढी यात्रु बोक्ने तथा तोकिएको भन्दा बढी भाडा लिने सवारी कारबाहीमा परेको डिएसपी घिमिरेले बताए । यात्रुलाई रिर्जभको नाममा बढी भाडा लिएको पाइए प्रहरीलाई खबर गर्न समेत सोलुखुम्बु प्रहरीले आग्रह गरेको छ ।
स्थलमार्गबाट सोलुखुम्बु भित्रिने विदेशीकाे संख्या बढे
सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा मौसम प्रतिकुल भएर उडान प्रभावित भएसँगै स्थलमार्गबाट जिल्ला भित्रिने विदेशी पर्यटकको सङ्या बृद्धि भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरु काठमाण्डौँ तथा रामेछापको मन्थलीबाट हवाइ मार्ग हुँदै लुक्ला ओर्लिने गर्छन् । तर लु्क्लामा मौसम प्रतिकुल हुँदा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकहरुले सडकमार्ग रोज्ने गरेका छन् ।

उनीहरु रामेछापको मन्थली तथा काठमाण्डौँबाट जिप मार्फत घुर्मी हुँदै सल्लेरी आउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । शुक्रबार एकैदिन जिपमार्फत १६२ पुरुष र ९३ महिला गरी २५५ जना विदेशी नागरिक जिल्ला भित्रिएको ट्राफिक प्रहरी पोष्ट पत्तालेका इन्चार्ज जीबन बस्नेतले जानकारी दिए ।

उनका अनुसार बिहिबार ५२ जना पुरुष र २७ जना महिला गरी ७९ जना विदेशी पर्यटक सल्लेरी भित्रिएका छन् । लुक्लामा मौसम प्रतिकुल हुन साथ स्थलमार्गबाट भित्रिने विदेशीको संख्या बढ्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै