spot_img

एक महिना घरमा ताला लगाउनुपर्ने दिङ्बोचे गाउँको अनौठो संस्कार !

spot_img

सुवास दर्नाल/रासस
सोलुखुम्बु, २९ असार । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित क्षेत्रमा पर्ने दिङ्बोचेवासीले करिब एक महिना गाउँ छोडेका छन् । उक्त गाउँका शेर्पा समुदायले वर्षौदेखि मान्दै आएको ‘डिइ’ चलनका कारण उनीहरुले एक महिनाका लागि गाउँ छोडेका हुन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचे गाउँ समुन्द्रि सतहबाट ४४१० मिटरको उचाइमा पर्दछ ।

Advertisement

सगरमाथा बाटो समेत यही गाउँ हुँदै जानुपर्ने भएकाले यसको गाउँको महत्व पृथक छ । यहाँ झण्डै ६० घर शेर्पा समुदायका नागरिकहरु रहेका छन् । जसमा करिब ३० वटा जति होटल तथा लज रहेका छन् । उनीहरुको मुख्य पेश पर्यटन अर्थात होटल व्यवसाय हो भने पशु पालन तथा अन्य खेती समेत गर्ने गरेका छन् । उनीहरुले असार महिनामा वर्षेनी एक पटक शेर्पा संस्कार अनुसार ‘डिइ’ बार्ने चलन रहेको स्थानीय जानकार समेत रहेका खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुरु शेपाले बताउनुभयो ।

Advertisement

‘डिइ’ भनेको यहाँको समुदायको संस्कार अनुसार करिब एक महिनाभर घरमा ताला लागउने र मानिसहरु सबैले उक्त समयमा गाउँ छोड्नै पर्ने चलन हो । जस अनुसार उनीहरुले बौद्ध धर्मका गुरु अर्थात लामा पुरोहितलाई साइत हेराएर बौद्ध परम्परा अनुसार पुजापाठ गराएर गाउँ छोड्ने अनौठो चलन रहेको छ । अधिकांश समय पर्यटन व्यवसायमा आबद्ध हुने उक्त क्षेत्रका नागरिकहरु यति बेला सिजन समेत सकिएकाले एक महिनाभर अन्यत्र बसाइ जाने चलन रहेको स्थानीय बताउछन् ।

Advertisement

सोही संस्कार अनुसार दिङ्बुचेवासीले गत बुधवारबाट सबै घरमा ताला लगाएर अन्यत्र बसाइ सरेका छन् । गाउँ छोड्नु अघि गाउँलेहरुले स्थानीय गुम्बामा गएर बौद्ध परम्परा अनुसार पुजापाठ गर्ने र लामाबाट प्रसाद ग्रहण ग्रहण गर्ने चलन रहेको छ । यसो गर्दा बस्तुभाउ सप्रने र खेती समेत फस्टाउने जनविश्वास यहाँ रहेको छ । अधिकांश दिङबोचेवासीको घर पाङ्बोचे, खुम्जुङ, नाम्चे, लुक्ला लगायतका क्षेत्रका रहेको स्थानीय बताउछन् ।

त्यसैले यो समय (डिइ)मा उनीहरु भएका बस्तुभाउ समेत सबै लिएर अन्यत्र सर्ने गरेका छन् । कतिपय भने अफसिजन मनाउन काठमाण्डौँ, पोखरा, भारतको बुद्धगैया लागयतका स्थानमा भ्रमणका लागि निस्किएका छन् । यद्यपि (डिइ) एक महिना घरमा ताला लगाउने चलन दिङ्बोचे बाहेक खुम्बुको अन्य स्थानमा नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । “मैले पनि धेरै पहिलादेखि यो कुरा सुनेको तर हाम्रो नाम्चेतिर यस्तो चलन छैन त्यहाँ मात्रै हो, उनीहरुको आफ्नो संस्कार हो”, उहाँले भन्नुभयो ।

करिब ४०० जना जनसंख्या रहेको यो गाउँ अहिले सबैले छोडिसकेका छन् भने घर, होटल तथा लजमा ताला लगाएका छन् । घर छोड्दा‘डिइ’को समयमा कुनै पनि मानिसहरु घर तथा बारीमा जान नमिल्ने वडा सदस्य शेर्पाको भनाइ छ । उहाँले भन्नुभयो, “यतिखेर हामी सबैले गाउँ छोडिसकेका छौँ, अब एक महिनाभर कसैको होटल तथा घरमा ताल्चा खोल्न मिल्दैन र हामी कोही पनि त्यहाँ जादैनौँ पनि, कहिलेकाही विदेशीहरु घुम्न गएमा त्यहाँ बास बस्ने गरि जादैनन्, उनीहरु घुम्छन् र नजिकैको अरु बस्तीसम्म बास बस्न पुग्छन् ।

यो हाम्रो पहिला पुर्खादेखिको चलन हो ।” ‘डिइ’ अर्थात गाउँ छोड्न उर्दी गर्न त्यहाँका समुदायले वर्षै पिच्छे दुई जना व्यक्ति शेर्पा भाषमा ‘नवा’ चुन्ने चलन रहेको छ । गाउँलेबाट चुनिने ति व्यक्ति(नवा)ले कहिलेबाट गाउँ छोड्ने कहिले प्रवेश गर्ने, कहिलेबाट घरमा आगो बाल्न पाउने, कहिले बारीमा पस्ने जस्ता कुराहरुको उर्दी जारी गर्ने चलन छ । ति व्यक्ति(नवा)ले हरेक कुरा लामा गुरुहरुसँग समन्वय गर्ने भन्ने भएकाले सबैले मान्नुपर्ने चलन त्यस गाउँमा छ ।

सोही अनुसार यस वर्ष पनि असार २६ गतेबाट पुजापाठ गरेर सबैले गाउँ छाडेको स्थानीय पासाङ शेर्पाले बताउनुभयो । उक्त दिनबाट गाउँ छोडेपछि एक महिना भरी ताला खोल्ने नमिल्ने यहाँको चलन रहेको छ । यदी संस्कारलाई तोडेमा अनिष्ट हुने, गाउँमा मानिसहरु धेरै मृत्यु हुने, बाढी पहिरो जाने, बालीनाली बिग्रन्छ भन्ने जस्ता मान्यता रहेको छ । साथै बौद्ध परम्परा अनुसार एक महिना देवतालाई समेत आराम दिन गाउँ शान्त बनाउन समेत यस बेला गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ ।

स्थानीय पासाङ शेर्पाले भन्नुभयो,“यो हाम्रो पुस्तौदेखिको संस्कार हो, यसलाई तोड्न धेरैले कोशिस गरे तर ठुलो लामा भिच्छुहरुले यसलाई तोडेको खण्डमा गाउँमा अनिष्ट हुने भनेपछि कसैले हिम्मत गर्न नसकेको हो, यहाँ यो नियम सबैले मान्छन्, कसैले पनि विरोध गर्दैनन् ।” जसका कारण दिङ्बोचे प्रहरी चौकीका प्रहरीहरु समेत नाम्चे सरेका छन् । एक महिनाभर गाउँमा मानिसहरु नहुने भएपछि प्रहरी चौकी नै सर्नु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो ।

यस चलनलाई कतिपयले रुढीबादीको संज्ञा दिने गरेका छन् । रुढीवादी चलनका कारण होटल व्यवसाय गर्नेहरु मर्कामा पर्ने गरेको केही व्यवसायीहरुको गुनासो छ । अफसिजन भएपनि फाट्टफुट्ट पर्यटकहरु आउने भएकाले सेवा दिनुपर्ने मत समेत कतिपयको छ । तर यो समय सिजन सकिएकाले यहाँ अन्य मानिसहरुको चहलपहल समेत न्यून हुन्छ । यो समयमा फुर्सद हुने भएकाले भ्रमण तथा रमाइलो गर्न विगतमा गाउँ छोड्ने चलन थियो विस्तारै यसलाई संस्कारको रुपमा विकास हुँदै गएको नाम नबताउने शर्तमा खुम्बुका एक स्थानीयले बताएका छन् ।

जसले गर्दा पर्यटन व्यवसायमै रमाउनेहरुलाई थोरै भएपनि धक्का पुग्ने उनको तर्क छ । दिङ्बोचे उपत्यका आकारको रमणीय गाउँ हो । यहाँ अधिकांश शेर्पा समुदायको बसोबास छ । सिजनमा सगरमाथा क्षेत्र जाने पर्यटकको चापले यहाँका होटल पसलहरु भरिभराउ हुन्छ । सगरमाथा जाने मुख्य पदमार्गमै पर्ने भएकाले अधिकांश पदयात्रीहरु दिङबोचेमा दुई रात विताउने गर्दछन् ।

यहाँ बास बसेको भोलीपल्ट हाइकीङका लागि दिङबोचे भन्दा केही माथि रहेको डाँडामा पुग्ने गर्छन् र सो दिन दिङबोचे नै फर्किने गर्छन् । यसो गर्दा उचाइ समायोजन भइ हाई लाग्ने सम्भावना कम हुने जानकारहरु बताउछन्
फोटो : दिङबोचे गाउँ । सुवास दर्नाल/रासस

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै