सोलुखुम्बु असार २६ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र अहिले सुनसान बनेका छन् । पर्यटकीय सिजनमा भरिभराउ हुने सगरमाथा क्षेत्रमा पर्ने सोलुखुम्बुको खुम्बु अहिले सुनसान बन्नेको हो । विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु पर्यटकीय सिजन सकिएसगै सुनसान भएका छन् । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौमा परेका होटल व्यवसायीहरु यतिखेर भने फुर्सदिला बनेका छन् ।
पर्यटक आवगमन शुन्य जस्तै बनेपछि यहाँका धेरै जसो होटल पसलहरु समेत बन्द भएको खुम्बुका स्थानीय दाकी शेर्पाले बताउनुभयो । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल अत्यन्तै न्यून रहेको स्थानीय कर्मा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त छ ।
सिजनमा आवातजावत समेत गर्न कठिन हुने साँघुरा बाटोघाटोमा अहिले मुस्किलले एक दुई जना पर्यटक मात्रै भेटिन्छन् ।” खुम्बु क्षेत्रमा मार्चको दोश्रो साताबाट सुरु भएको पर्यटकीय सिजन जुनको दोश्रो साताबाट कम हुदै जाने खुम्बु पासङ ल्हमु गाउपालीका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी बताउनुभयो ।
सिजनमा करिब ५ सय देखि ६ सयको हाराहारीमा पर्यटकहरु खुम्बु क्षेत्र प्रबेश गर्ने गरिएको भएपनि अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटकहरु आउने गरेको पर्यटन सामुदायिक प्रहरी नाम्चेका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो ।
सिजनमा पर्यटक संख्या दर्ता र प्रवेश शुल्क सङ्कलनको कार्यले ब्यस्त हुने निकुञ्ज कार्यलयका कर्मचारीहरु समेत सिजन सकिएसगँै फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज मन्जो जाँच चौकीले जनाएको छ । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकहरु समेत सिजन सकिए पछि तिर्थ यात्रा तथा भ्रमणका लागी बाहिर जाने गरेका छन् । उनीहरुले काम गर्नेलाई होटल जिम्मा लगाएर सञ्चालकहरु काठमाण्डौ, लुम्बिनी, पोखरा लगायतका तिर्थ स्थलहरुको भ्रमणमा निस्किएको थुक्लाका सविन राईले बताउनुभयो ।
“अब अफ सिजन भयो त्यसैले यस क्षेत्रका होटल मालिकहरु धेरै जसो काठमाण्डौँ फर्किसक्नुभयो, अहिले यहाँ होटल कुर्न अन्य कामदारहरु मात्रै राखेर उहाँहरु अन्यन्त्र जानुहुन्छ अनि सिजनमा फर्किनुहुन्छ, यहाँ सधै यस्तै गर्ने चलन छ ।” राईले भन्नुभयो । सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकाशंं व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेको स्थानीय बताउछन् ।
यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको श्रोत नै पर्यटन भएकाले सिजन सकिएसगै उनीहरु फुर्सदिला बनेका हुन् । सिजनमा कडा मेहनत गर्ने र अफसिजनमा रमाईलो, घुम्फिर, भ्रमण लगायतका कार्यमा समय विताउने यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ ।
११ महिनामा झण्डै ५६ हजार पर्यटक खुम्बु पुगे
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ११ महिनामा झण्डै ५६ हजार जना स्वदेशी तथा विदेशी पर्यटकले खुम्बु अर्थात सगरमाथा क्षेत्र पुगेका छन् । यस आर्थिक वर्षको साउनदेखि जेठ मसान्त सम्ममा ५५ हजार ९ सय ७९ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक छ । कार्यालयका सूचना अधिकारी मनोज कुमार मण्डलका अनुसार भ्रमणकर्ता मध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली रहेका छन् ।
यस वर्ष सबै भन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबै भन्दा कम साउनमा २०८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले बताउनुभयो । वैशाख खुम्बुका लागि मुख्य पर्यटकीय सिजन हुने भएकाले उक्त महिना पर्यटकको चाप बढी देखिएको र साउनमा अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आउने उहाँको भनाइ छ । चालु आर्थिक वर्षको ११ महिनामा पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले झण्डै रू १४ करोड राजस्व उठाएको छ ।
निकुञ्ज क्षेत्र भ्रमण गर्ने ५५ हजार नौ सय ७९ जना पर्यटकबाट रू १३ करोड ६५ लाख सात सय राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । विश्वको सर्वोच्च शिखर अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्जले पर्यटक शुल्क बापत नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाचँ सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रू तीन हजार रुपैयाँ लिने गरेका छन् ।
सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ जना सार्क मुलुकका र ४२ हजार ९४ जना अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
विश्वको पर्यटकीय गन्तव्य खुम्बु
विश्वकै अग्लो सगरमाथा देखि अन्य उच्च हिम शिखरहरुसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरीका पर्यटकहरुको गन्तव्य स्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौं अग्लो चोयू (८,१८८ मिटर) खुम्बु क्षेत्रको महालङ्गुर हिमश्रृङखलामै छन् । यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्यो लगायतका ताल, हिउँचितुवा र हाब्रे लगायतका दुर्लभ हिमाली जनावर पाइन्छन ।
लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् । त्यसैले यस क्षेत्रमा गरिने विकास र पूर्वाधार निर्माणले विशेष महत्व राख्दछ । १६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धता संसारभर फैलिन थालेको हो ।
आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै पर्यटन व्यवसाय पनि जीविकोपार्जनको स्रोत बन्न थालेको विश्व पर्वतारोहण महासंघका सदस्य आङ छिरिङ शेर्पाको भनाइ छ । संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभ लिनबाट अझै खुम्बु क्षेत्र बञ्चितनै रहेको उहाँको भनाइ छ ।