spot_img

सगरमाथा क्षेत्रको पर्यटन आवगमनमा सहजता थपिदै

spot_img

सुवास दर्नाल/रासस, सोलुखुम्बु, ३ असार । सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जिर्ण बनेको पूर्वाधारहरुको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो ।

Advertisement

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गहरुको पूर्वधार निर्माणका लागि मात्रै रू एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । जसमा लार्चादोभान देखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रू २५ लाख, गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वधार निर्माणमा २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रू २५ लाख, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा रू २५ लाख र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा रू २५ लाखको विनियोजन गरिएको छ ।

Advertisement

रकम विनियोजन भए अनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । पर्यटकीय क्षेत्रका पदमार्गहरुको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनहरुको आवगमनलाई थप सहज बनाउने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

Advertisement

सगरमाथा क्षेत्र जाने पर्यटकहरुका लागि एक मात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायिहरुले निकै महत्व साथ हेरेकाछन् । पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यीनै पदमार्गहरुको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

एकातिर भौगोलिक विकटता अर्को तर्फ यस क्षेत्रका पदमार्गहरु जिर्ण र साँगुरो भएका कारण पर्यटकहरुले निकै सास्ती खेप्नु परेको थियो । लार्चा दोभान देखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जिर्ण साँगुरो थियो । पदमार्गको सडक खण्ड साँगुरो भएकाले पर्यटक, पर्यटकहरुको सामाग्री लिएर गएका भरिया र खच्चडहरु लडेर घाइेत तथा मृत्यू हुने गरेको स्थानीय टसी शेर्पा बताउछन् । तर अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ ।

यस अघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउछन् । यस्तै गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको रू २५ लाखको लगानीमा धमाधम भइरहेको छ ।

यस अघि पर्यटन सिजन चलिरहेकाले पूर्वधार निर्माणको काम गर्दा पर्यटकहरुको आवगमनमा असर पर्ने भएकाले सिजन कम भएसँगै काम सुरु गरेको र उक्त पदमार्गको पूर्वधार निर्माणको काम अन्तिम चरणमा पुगेको वडाअध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

विश्वको छैटौँ अग्लो आठ हजार १८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागि समेत विदेशी तथा स्वदेशी पर्यटकहरु यस क्षेत्रमा पुग्ने गर्छन् । प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्ष अघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ ।

डरलाग्दो भीर कट्टान गरी पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ । सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताए । जोक्पे तथा घोडा खच्चड हिड्ने बाटो समेत एउटै हुँदा फोर्चे क्षेत्रको पदमार्गमा पर्यटकलाई असहज हुने गरेको पर्यटक गाइड तथा भरियाहरुको गुनासो छ ।

प्रदेश सरकारसँगको समन्वयमा निर्माण सुरु गरिएको उक्त पदमार्ग सम्पन्न भएपछि सो समस्या समेत समाधान हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । सगरमाथा क्षेत्रले सोलुखुम्बुलाई मात्रै नभइ देशलाई नै पालिरहेकाले यहाँको विकासमा कन्जुस्याँय गर्न नहुने सोलुखुम्बुका प्रदेश सांसद तथा पुर्वमन्त्री बुद्धि कुमार राजभण्डारीको बताउछन् ।

वार्षिक हजारौँ विदेशी पर्यटकहरु सगरमाथा क्षेत्र भ्रमणकै लागि आउने भएकाले यहाँको पूर्वधार विकास आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ । फोर्चेदेखि सगरमाथा जाने र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माण कार्यले पनि गति लिरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । यि पदमार्गहरु निर्माण भएपछि पर्यटकहरुलाई गन्तव्यमा पुग्न सहज हुने स्थानीय होटल व्यवसायी काजी शेर्पाको अपेक्षा छ ।

‘पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणले पदमार्ग सहज छ भन्ने सन्देश प्रवाह हुन्छ र सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा समेत वृद्धि हुन्छ’– होटल व्यवसायि शेर्पाले भने । सडक यातायातको पहुँच नपुगेको यस क्षेत्रमा पदमार्ग यात्रा लुक्ला विमानस्थलबाटै सुरु हुन्छ । काठमाण्डौँ वा रामेछापको मन्थलीबाट हवाइमार्ग भएर लुक्ला विमास्थलमा ओर्लिएका पर्यटकहरु पदमार्ग हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

लुक्लाबाट सगरमाथा आधार शिविर सम्मको दुरी झण्डै ६५ किलोमिटर रहेको छ । हेलिकप्टर बाहेक अन्य सवारी साधनको सुविधा नभएकाले पर्यटकहरुलाई पैदल यात्रमार्फत लुक्लाबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सात देखि आठ दिन लाग्ने गर्दछ । सगरमाथा पदयात्रा पदमार्ग भएर प्रत्येक वर्ष ५० देखि ५५ हजार जनासम्म पर्यटक सगरमाथा क्षेत्र पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

उच्च हिमाली क्षेत्र भएकाले सो क्षेत्रमा पर्ने चट्टान तथा पहाडका खोचहरु छिचल्दै पर्यटकहरु सगरमानाको आधार शिविर पुग्ने गर्छन् । पदमार्ग क्षेत्रमा विगतमा निर्माण गरिएका ढुङ्गाका स्टेपहरु भत्किएका कारण सगरमाथा क्षेत्रमा पुग्ने पर्यटकहरुले विगतमा सास्ती खेप्तै आएका थिए तर अब पदमार्गको पूर्वाधार निर्माणले सहज हुने पर्यटन गाइड साङ्गे शेर्पाको विश्वास छ । कयौँ पटक पर्यटक तथा जोक्पेहरु समेत लड्ने गरेको लार्चादोभान क्षेत्रमा अहिले स्तरिय पदमार्ग निर्माण भएपछि अत्यन्त सहज भएको खुम्बुका ल्हाक्पा शेर्पाको भनाइ छ ।

सडक यातायात नपुगेकाले खुम्बु क्षेत्रमा पदमार्ग निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्ने भएपनि विगतमा त्यसो नगर्दा यस क्षेत्रको पर्यटन विकासले गति लिन नसकेको अर्का स्थानीय रिन्छेन पल्मु शेर्पा बताउँछन् । पदमार्ग क्षेत्रमा पर्यटकहरुलाई विसाउने चौतारा तथा आराम गर्ने स्थलहरु समेत आवश्यक रहेकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने पर्यटक गाइड डिक बहादुर दर्नालको सुझाव छ ।

उनले भने, – “यस क्षेत्रमा वर्षेनी हजारौँ विदेशी र स्वदेशी पर्यटकहर घुम्न आउँने भएकाले यहाँको पूर्वधार विकासमा कम्जोरी हुँदा गलत सन्देश जान्छ, त्यसैले पूर्वधार विकासमा हामी गम्भीर हुनुपर्छ, अहिले सुरु भएको पदमार्ग निर्माणले सकारात्मक सन्देश दिएको छ ।”
स्थानीय संस्कृतिको प्रवद्र्धनमा ध्यान दिनुपर्न
पूर्वाधारको निर्माणसँगै पदमार्गका विभिन्न स्थानहरुमा सांस्कृतिक सम्पदाहरु, विभिन्न जातजातीका संस्कार संस्कृति झल्किने पूर्वाधारहरु पनि निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । यस्ता कार्यले स्थानीय संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटकहरुलाई थप आकर्षित गर्ने अवलोकनकर्ता प्रजिता कार्कीको भनाइ छ ।

केही ठाउँहरुमा शेर्पा समुदायको गुम्बा तथा मानेहरु भएपनि राई, तामाङ सहित अन्य समुदायहरुको जाती तथा धार्मिक संस्कार संस्कृति झल्कने सामाग्रीहरु पदमार्ग क्षेत्रमा राख्न सके पर्यटकहरुलाई थप लोभ्याउन सकिने उहाँको विश्वास छ ।
आर्थिक वर्षनै विकासको बाधक
सामान्यतया देशका अन्य स्थानमा आर्थिक वर्षको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आर्थिक वर्ष नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउछन् ।

सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने हुँदा यस क्षेत्रमा हिउँद सिजनमा निर्माणको काम सुरु गर्न नसकिने उनको भनाइ छ । भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकास निर्माणका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताए ।

चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् । खुम्बुमा वर्षको दुई सिजन चैत देखि जेठ र असोज देख मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय सिजनमा पदमर्ग क्षेत्रमा संरचना निर्माण गर्दा पर्यटकलाई हिडडुल गर्न असहज हुने र अन्य सिजनमा चिसो तथा अन्य कारणले पूर्वाधार निर्माणको काम गर्न समस्या हुने गरेको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।
संसारकै गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’
विश्वकै अग्लो सगरमाथा देखि अन्य उच्च हिमशेखरहरुसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरीका पर्यटकहरुको गन्तव्य स्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौं अग्लो चोयू (८,१८८ मिटर) खुम्बु क्षेत्रको महालङ्गुर हिमश्रृङखलामै छन् । यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्यो लगायतका ताल, हिउँचितुवा र हाब्रे लगायतका दुर्लभ हिमाली जनावर पाइन्छन ।

लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् । त्यसैले यस क्षेत्रमा गरिने विकास र पूर्वाधार निर्माणले विशेष महत्व राख्दछ ।

१६ जेठ २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धता संसारभर फैलिन थालेको हो । आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै पर्यटन व्यवसाय पनि जीविकोपार्जनको स्रोत बन्न थालेको विश्व पर्वतारोहण महासंघका सदस्य आङ छिरिङ शेर्पाको भनाइ छ । संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभ लिनबाट अझै खुम्बु क्षेत्र बञ्चितनै रहेको उनको भनाइ छ ।
पर्यटन पूर्वाधारमा रू ८३ करोड लागनी
कोशी प्रदेश सरकारले प्रदेश भित्रका पर्यटन पूर्वधार विकासमा चालू आर्थिक वर्षमा रू ८३ करोड रुपैयाँ भन्दा बढीको योजना सञ्चालन गरेको छ । प्रदेश सरकारले पर्यटन विकास अन्र्तगतका योजनाबाट कोशीका १४ वटै जिल्ला समेटिएको कोशी प्रदेश पर्यटन पूर्वधार विकास आयोजना प्रमुख कुल प्रसाद यादवले जानकारी दिए । पर्यटन पर्वद्धनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यकोरुपमा रुपमा विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।

सरकारले ताप्लेजुङमा तीन करोड रू २५ लाख, पाँचथरमा छ करोड रू २५ लाख, इलाममा रू १० करोड २५ लाख, झापामा रू १२ करोड ६५ लाख, मोरङमा रू १७ करोड ९५ लाख र सुनसरीमा रू १४ करोड ७५ लाख रुपैयाँ रकमको कार्यक्रम सञ्चालन गरेको छ । यस्तै धनकुटामा रू २७ लाख, एक करोड ५० लाख, भोजपुरमा रू एक करोड ४५ लाख, संखुवासभामा रू ९० लाख, खोटाङमा रू चार करोड २५ लाख, ओखलढुंगामा रु एक करोड ८५ लाख, उदयपुरमा दुई रू करोड र सोलुखुम्बुमा तीन करोड रुपैयाँ बराबरको योजना सञ्चालन भएको मन्त्रालयको तथ्यांक छ ।

विश्वका आठहजार मिटर भन्दा अग्ला १४ वटा हिमशिखर मध्ये ६ वटा हिमशिर यसै प्रदेशमा पर्दछ । त्यसैले यस प्रदेशमा पर्वतारोहरण पर्यटन देखि जलयात्रा, पदयात्रा, बन्यजन्तु अवलोक, दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक, जङ्गल पर्यटन लगायत पर्यटनका विभिद् गतिविधिको संभावाना रहेको छ ।

पर्यटन क्षेत्रका विभिद् गतिविधिहरुको पहिचान र संभाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्मा गर्न सके छिमेकी मुलुक भारतको विहार र पश्चिम बङ्गालबाट वर्षेनी हजारौ पर्यटक भित्र्याइ प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै