कार्तिक, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा उच्च गुणस्तरको स्याउ उत्पादन क्रमिक रुपले बृद्धि भएको छ । पछिल्लो ३ आर्थिक वर्षको तथ्यांकलाई केलाउँदा जिल्लामा स्याउ उत्पादन क्रमिक रुपले बृद्धि भएको पाइएको हो । कृषि ज्ञान केन्द्र सोलुखुम्ुबको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १ सय ९३ मेट्रिकटन, ०७९/८० मा १ हजार ३ सय ९ मेट्रिकटन र ०८०/८१ मा १ हजार ३ सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।
जिल्लाामा पछिल्लो वर्ष उच्च गुणस्तरको (आईडेन्सीटी) स्याउ खेती विस्तारको क्रम बढेकाले उत्पादन पनि बढ्दै गएको कार्यालयका सुचना अधिकारी कुल बहादुर राईले बताए । उनले भने, ‘जिल्लामा विगतमा गरिएको रैथाले जातको स्याउको बोटहरु सबै मासिएको छ, तर अहिले यो उच्च गुणस्तरको स्याउ खेती सुरु गरिएको छ । यो दश ६/७ वर्ष भयो होला नयाँ प्रजातीको स्याउ भित्रिएको यसले चै राम्रै आम्दानी दिरहेको छ ।’
यद्यपी सुरुवातको केही वर्षहरुमा राम्रै आम्दानी दिएपनि बोट पुरानो हुँदै गएपछि उत्पादनमा गिराउट आउने लक्ष्यण देखिएको कृषि विज्ञहरु बताउँछन् । वि.स. २०७८/७९ मा २०५ हेक्टर, ०७९/८० मा २२१ र ०८०/८१ मा २३० हेक्टरमा गरिएको स्याउ खेतिले उत्पादन दिएको हो । उत्पादकत्व पनि क्रमश बढिरहेको छ । आर्थिक वर्ष ०७८/७९ मा प्रतिहेक्टर ५.८२ म्ट्रिकटन, ०७९/८० मा ५.९२ र ०८०/८१ मा ६.३ मेट्रिकटन रहेको छ । जिल्लामा हाल २३३ हेक्टर क्षेत्रफलमा स्याउ खेति गरिएको छ ।
जसमा सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९ र १० बढी खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । उत्पादित स्याउ अधिकांश जिल्लामै खपत हुने गरेको छ भने केही मात्रामा जिल्ला बाहिर पनि निर्यात भएको छ । यद्यपी चिसोका कारण रङमा राम्रोसँग विकास नभएको ज्ञान केन्द्र प्रमुख दुर्गा बहादुर तिरुवा बताउँछन् । जिल्लाको गोरा, टाप्टिङ, पत्ताले लगायतका क्षेत्रलाई प्रधानमन्त्री कृषि आधुनिकिकरणले स्याउ पकेट क्षेत्र नै घोषणा गरेर काम गरिरहेको छ ।
पकेट क्षेत्र हुँदा उत्पादनमा केही मात्रामा बृद्धि भएपनि त्यस पश्चात किसानले स्याउको हेरचाह गर्न नसक्ने कतिपय जानकारहरुको आकँलन छ । पछिल्लो समय स्याउमा एक प्रकारको अैजेरु तथा बोट र फलमा कालो हुने रोग देखिएको छ । उक्त समस्याको समाधान किसानका लागि महँगो पर्ने उनीहरु बताउँछन् । विगतमा जिल्लाको गोरा,टाप्टिङ क्षेत्रलाई स्याउको हब नै मानिन्थ्यो ।
सो क्षेत्रमा वार्षिक १० हजार टन भन्दा बढी स्याउ उत्पादन हुने गरेको एक बृद्ध लाक्पा शेर्पाले बताए । सो समय यहाँ उत्पादित स्याउ खपत नभएर घरेलु रक्सी उत्पादन गर्नेदेखि वस्तुभाउलाई खाउने प्रयोगजनका लागि समेत प्रयोग गरिने गरेको उनको भनाई छ । तर ति रैथाने जातका स्याउहरु पछिल्लो २० वर्षमा सबै लोप भएको शर्पाको अनुभव छ ।
पुराना जातका स्याउहरु ऐजेरु, बोट मर्ने, फल नदिने जस्ता कारणहरुले मर्दै गएको हो भने कतिपय रुख बुढो भएका कारण आफैँ झर्दै गएको स्याउ किसान कर्मा शेर्पाको भनाई छ । त्यसपछि केही वर्ष स्याउ खेतीबाट निराश बनेका किसानहरु पछिल्लो एक दशक यता उच्च घनत्वको स्याउ खेतीले आशा जगाएको स्थानीय बताउँछन् । नयाँ प्रजातिको स्याउले रोपेको छोटो समय एक वर्षमै उत्पादन दिने भएकाले किसानको रोजाई यसतर्फ सोझिएको ज्ञान केन्द्रका सुचना अधिकारी राईले बताए ।
यो प्रजातिको स्याउको बोट सानो र होचो हुने तथा कम क्षेत्रफलमा धेरै बोट लगाउन सकिनुका साथै उत्पादन समेत बढी दिने भएकाले किसानहरु अन्य बाली मासेर भएपनि स्याउ खेतीमा अग्रसर बनेका छन् । उत्पादित स्याउलाई बजारको समेत अभाव नभएकाले किसानले खेती गर्न रुचाएका छन् ।
जिल्लामा उत्पादन भएको स्याउ कतिपय जिल्लामै खपत हुन्छ भने आधा भन्दा बढी जिल्लामा कार्यरत कर्मचारीहरुले घर विदामा जाँदा कोशेलीको रुपमा लैजाने भएकाले खपत राम्रो रहेको किसानको भनाई छ ।