सोलुखुम्बु । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा चढ्नका लागि सोलुखुम्बु आएका छन् । सगरमाथा आरोहणको तयारीमा मगर बुधवार त्रिभुवन विमानस्थल हुँदै तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला आएका हुन्
। शारीरिक रूपमा अशक्त रहेका उनको दुवै गोडा छैनन् । उनी कृतिम (प्रोस्थेटिक) गोडाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । उनले कृत्रिम गोडाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ’स्काई ड्राइभिङ’ गर्ने पहिलो व्यक्तिसमेत हुन् ।
सगरमाथा आरोहण गर्न सोलुखुम्बु प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै बुढामगरले पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीलाई खुसी दिने विश्वास व्यक्त गरे ।
उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए ।
उनले आफ्ना लागि सगरमाथा आरोहणको समय दुई महिनाको हुने बताए । सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै गोडा गुमाएका थिए । उनको जन्म रोल्पाको मिरुल गाउँमा सन् १९७९ मा भएको हो ।