काठमाण्डौँ । तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा इनडोर स्पोर्टस् कम्प्लेक्सको शिलान्यास गरिएको छ ।
ह्यूमन स्पेस कोरिया र उम होङ गिल ह्यूमन फाउण्डेशनको सहयोगमा निर्माण हुने स्पोर्टस् कम्प्लेक्सको शिलान्यास तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी, ह्यूमन स्पेस कोरियाका सिइओ छाङ मिहो, उम होङ गिल ह्यूमन फाउण्डेशनका अध्यक्ष लि जे हो, कार्यकारी निर्देशक उम होङ गिल लगायतले नेपाली र कोरियन शैलीमा गरिएको हो ।

मंगलबार विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख महर्जनले कोरियन संस्थाको सहयोगले पृथ्वीनारायण माविमा शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्ने बताए । फाउण्डेशनका कार्यकारी निर्देशक उम होङ गिलले विद्यार्थीको स्वास्थ्य र व्यायमका लागि इनडोर स्पोर्टस् कम्प्लेक्सको अवधारणा कार्यान्वयनमा ल्याएको बताए ।

फाउण्डेशनका अध्यक्ष लि जे होले कोरोना महामारीका कारण भवन निर्माणमा बाधा आएको स्मरण गर्दै कोरोनाबाट बचेर काम अघि बढाउन पाउँदा खुसी भएको सुनाए । ह्यूमन स्पेस कोरियाका सिइओ छाङ मिहाले विद्यार्थीको भविष्य बनाउने कामका लागि सहयोग गर्दा प्रफुल्लित बनेको बताए । कार्यक्रममा विद्यालयले कोरियन नागरिकलाई मायाको चिनो प्रदान गरेको थियो ।

८ सय विद्यार्थीको क्षमता रहेको कम्प्लेक्समा बास्केट, भलिबल र ब्याडमिन्टन कोर्ट निर्माण हुनेछ । टेवल टेनिस खेल विद्यार्थी र स्थानीयको आवश्यकताको आधारमा खेल्न सकिने कम्प्लेक्स ४०.४ मिटर लम्बाइ, २५.४ मिटर चौडाइ र १० मिटर अग्लो बन्नेछ । सन् २००९ देखि नेपालको शिक्षा क्षेत्रमा काम गर्दै आएको उम होङ गिल ह्यूमन फाउण्डेशनले १६ औँ विद्यालयको रुपमा भौतिक पुर्वाधार निर्माण गर्दै आएको छ ।

पृथ्वीनारायण माविमा ३ बर्षदेखि प्राथमिक, माध्यमिक, उच्च माध्यमिक र पुस्तकालयको भवन निर्माणाधिन अवस्थामा छ ।

